मासु पसललाई गुणस्तरमा ध्यान दिन उपभोक्ता संरक्षण विभागको आग्रह


Nepalkura

  • 5
    Shares

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । मङ्गलबार काठमाडौँ उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो ।

छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्न आग्रह गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले गरेको आग्रहमा मासु व्यवसायी सहमत भएर फूलपातीको दिनबाट खसीको मासुको मूल्य तोक्ने जनाएका हुन ।

यस्तै, कुखुराको मासु व्यवसायीले दसैंमा रु तीन सयभन्दा बढी मूल्य नबढाउने जनाएका थिए । राष्ट्रिय मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्कीले विभागमा भएको छलफलका आधारमा मासुको मूल्य तोक्ने तयारी भएको जानकारी दिनुभयो ।

विभागले पहिलो पटक यसवर्षको चाडपर्वलाई ध्यानमा राख्दै उपत्यकामा सञ्चालित मासु पसलसँगै मार्टलाई दसैंका लागि सहुलियत रुपमा खाद्यान्न सामग्रीको बिक्री वितरण गर्न आग्रह गरेको छ । विभागले नेपाल उद्योेग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घलाई आप्mना सदस्य व्यवसायीलाई चाडपर्वमा सहुलियत रुपमा सामग्रीको बिक्री वितरण गर्न अनुरोध गरेको जनाएको छ ।

यसअघि नै विभागले तीन ठूला मार्टलाई बिक्री केन्द्रबाट चाडपर्वमा सहुलियत दरमा खाद्य पदार्थकोे बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागमा सोमबार भएको छलफलमा भाटभटेनी, सेल्सबेरी, बिगमार्ट लगायतका मार्टलाई सहुलियत रुपमा खाद्य पदार्थको बिक्री वितरण गर्न आग्रह गरेको हो ।

“सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै अन्य समयको तुलनामा चाडपर्वमा केही सहुलियत दिन हामीले आग्रह गरेका थियौ, छलफलमा सहभागी मार्टका सञ्चालकले व्यानरसहित छुट दिन सहमत हुनुभयो”, प्रवक्ता सेढाइँले भन्नुभयो ।

उपत्यकामा बिगमार्टको ५७, सेल्सबेरीको २६ र भाटभटेनीको देशभर १९ वटा बिक्री काउन्टर सञ्चालनमा छन् । विभागले चार्डपर्वमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै तीव्र रुपमा बजार अनुगमनसँगै सरोकारबाला निकायसँग छलफल गर्दै आएको छ ।